काठमाडौं।
नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
आइतबार काठमाडौँमा संस्थापन इतर पक्षले गरेको राष्ट्रिय सम्मेलनलाई समापन गर्दै उनले पार्टीको आन्तरिक एकता र बलियो सङ्गठन निर्माणमा जोड दिएका हुन्।
सम्मेलनले पारित गरेका पाँच बुँदे प्रस्तावहरूप्रति ऐक्यबद्धता जनाउँदै डा. कोइरालाले सहभागीहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता साङ्गठनिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘यो सम्मेलन एकताका लागि आयोजना गरिएको हो,’ डा. कोइरालाले भने, ‘यही एकताका कारण आज हामी एकै ठाउँमा उभिएका छौँ र भोलिका दिनमा पनि एकताबद्ध भएर अघि बढ्नुपर्छ। तपाईंहरूले पारित गर्नुभएका पाँच वटै बुँदाप्रति धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु।’
आफूलाई संयोजकको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै उनले सम्मेलनको सफलता सहभागीहरूको सहभागिता, सहमति र सहयोगका कारण सम्भव भएको बताए।
आवश्यकता अनुसार आगामी भेलाहरू केन्द्रमा मात्र सीमित नराखी स्थानीय तहसम्मै पुगेर आयोजना गर्न सकिने पनि उनले स्पष्ट पारेका छन्।











