सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको ३ दिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने विशेष प्रस्ताव पारित गरेको छ। सुकेधारामा आइतबार सम्पन्न भेलाले मुलुकको मौलिक धार्मिक र सांस्कृतिक जगलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको हो।

भेलाले पारित गरेको प्रस्तावमा लेखिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म र संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्न पाउने अधिकारलाई सुनिश्चित गर्दै सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउन कांग्रेस प्रतिबद्ध रहनेछ।’

कांग्रेसले आफ्नो प्रस्तावमा परापूर्वकालदेखि नेपालमा रहिआएका विशिष्ट धर्महरूको संरक्षण गर्ने दायित्वलाई समेत उल्लेख गरेको छ। ‘सनातनदेखि चलिआएको हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गर्दै यी मौलिक पहिचानलाई जोगाउन पार्टीले विशेष भूमिका खेल्नेछ,’ पारित प्रस्तावमा उल्लेख छ।

पार्टीले सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा स्वीकार गरे पनि व्यक्तिगत धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावलाई उत्तिकै महत्त्व दिएको छ। नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको तथ्यलाई आत्मसात् गर्दै सबै धर्म र समुदायबिचको आपसी एकता र सहिष्णुतालाई कांग्रेसले आफ्नो नीतिगत आधार बनाएको छ।

यसअघि समापन समारोहमा बोल्दै निवर्तमान सभापति शेरबहादुर देउवाले पनि आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्म मान्ने तर सबै धर्मलाई सम्मान गर्ने धारणा राखेका थिए। भेलाको समापनका क्रममा केही नेताहरूबिच शब्द छनोटमा सामान्य विवाद देखिएको थियो।

  • ३१ श्रावण २०८३, आईतवार १६:०२ प्रकाशित