मुस्ताङ ।
नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ ।
सदरमुकाम जोमसोमसहित जोमसोम–कोरला सडक खण्डका विभिन्न स्थानबाट शङ्कास्पद रूपमा मालवस्तु ओसारपोसार भइरहेको गोप्य सूचनाका आधारमा ती कन्टेनर नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार खटिएको प्रहरी टोलीले फरक–फरक स्थानबाट कन्टेनरहरूलाई नियन्त्रणमा लिएको छ। कोरलाबाट मालवस्तु लोड गरी भन्सार कार्यालयतर्फ झर्दै गरेका कन्टेनरको कागजपत्र जाँच तथा सोधपुछ गर्दा भन्सार यार्डमा जाँचै नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक बस्यालले भने, ‘मनसुनका कारण विपद् जोखिम न्यूनीकरण गर्न कोरला सडकमा रातिको समयमा सवारीसाधन चलाउन निषेध गरिएको छ।’ नियम विपरीत शङ्कास्पद रूपमा लुकाएर ल्याइएकाले कन्टेनर नियन्त्रणमा लिनुपरेको बताउँदै उनले थपे, ‘भन्सार यार्डमा जाँच नगरी ल्याइएका मालवस्तु अवैध हुन सक्ने बलियो शङ्का छ। आवश्यक कारबाहीका लागि प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली खटाएर कन्टेनरहरूलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाइसकिएको छ।’
प्रहरीले नियन्त्रणमा लिएका कन्टेनरहरूमा बा प्र ०१-००५ ख २२४५, बा प्र ०१-००६ ख ६२७३, ना ३ ख ७१६०, ना ६ ख ४७४१, को १ ख ५६९६, बा प्र ०१-००६ ख २२४८, ना ६ ख २०२२ र बा प्र ०१-००६ ख ६६११ नम्बरका रहेका छन् ।
नेपाल–चीन उत्तरी कोरला नाका गत वर्ष भदौ ३१ गते पूर्ण रूपमा सञ्चालनमा आएयता अवैध रूपमा ओसारपसार गर्ने मालबाहक कन्टेनरहरूलाई नियन्त्रणमा लिएर कारबाही चलाइँदै आइएको छ। नाकाबाट पटक(पटक हुने यस्ता अवैध गतिविधिले राजस्व छली गर्ने गिरोह सक्रिय रहेको देखाउँछ । यसअघि आर्थिक वर्ष २०८२/८३ को पुस ९ गते कोरला नाकाबाट भित्र्याइएको दुई करोड २४ लाख मूल्य बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो। त्यस्तै सोही आर्थिक वर्षको जेठ २ गते पनि लुकाएर ल्याइएका २० हजार थान विद्युतीय चुरोट सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो ।











