काठमाडौं ।
नेता धवलशमशेर राणाले राप्रपाबाट अलग भएर नयाँ पार्टी गठन गर्न लागेपछि मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईँले पनि छिट्टै अर्को पार्टी गठन गर्ने जनाएका छन् ।
नेता राणा र प्रसाईँले एउटै पार्टी गठन गर्ने बताइए पनि अन्ततः उनीहरूबिच कुरा नमिल्दा दुवैले अलग अलग पार्टी गठन गर्ने तयारी गरेका हुन् । राणाले आज शुक्रबार निर्वाचन आयोगमा ‘जय नेपाल’ नामक पार्टी दर्ता गर्दैछन् ।
यही बेला प्रसाईँले आफ्नै नेतृत्वमा अर्को पार्टी छिट्टै गठन हुने जानकारी दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै प्रसाईँले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई केही समय धैर्य गर्न आग्रह गरेका छन् ।
‘अब बन्ने हाम्रो पार्टी सबै नेपाली नागरिकहरूको, सबै जातजाति र सबै धर्मको साझा पार्टी बन्नेछ’, प्रसाईँले भनेका छन्, ‘वैदिक सनातनी हिन्दु अधिराज्यसहितको यो पार्टी देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुनेछ ।केही समय धैर्य गर्नुहोला । तपाईँ हाम्रो पार्टी छिट्टै खुल्नेछ ।’
२००४ सालदेखि २०८२ सालसम्म पार्टी दर्ता गर्ने र नेता बन्ने काम भएपनि गरिबीको रेखामुनि रहेका सर्वहारा वर्ग, भुइँमान्छे, उत्पीडित वर्ग, भूमिहीन सुकुम्वासी तथा लघुवित्त, सहकारी, बैंक र मिटरब्याजीहरूको चर्को चक्रवर्ती ब्याजमा परी घरबार गुमाएर सडकका पेटी र खोला किनारमा अव्यवस्थित बसोबास गर्न बाध्य नागरिकहरूको जीवनस्तर जहीँको त्यहीँ रहेको प्रसाईँको भनाइ छ ।












