धनगढी ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँ समक्ष उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
मुख्यमन्त्रीबाट कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए । तोकिएको समयभित्रै एमालेको समर्थनसहित भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुख मियाँले आजै भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । नेकपाका एक सांसदकाअनुसार नियुक्त भएपछि आजै दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।
मुख्यमन्त्री बनेपछि भट्टले शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने सम्भावना पनि रहेको नेताहरू बताउँछन् ।
नेकपा र एमालेबीच सुदूरपश्चिममा यसअघि नै मन्त्रालयत भागबन्डा भइसकेको छ । नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन वटा मन्त्रालय पाउनेछ ।












