पोखरा ।
पोखरा बसपार्क निर्माणका लागि बसपार्क भित्रका अधिकांश संरचना भत्काइएसंगै अब पोखराको पृथ्वीचोकलाई व्यवस्थित गर्ने कार्यको सुरुवात भएको छ । यस अगाडि पृथ्वी राजर्माहुँदै पोखरा भित्रिने र बाहिरिने सवारीसाधनहरु फुटपाथबाट नै छुट्ने गरेकामा अब बसपार्क भित्रबाट नै यात्रु ओराल्ने र उकाल्ने गरी छुटाइने भएको छ ।
फुटपाथमा पार्किङ र यात्रु ओराल्ने उकाल्ने कार्यलाई प्रतिबन्ध गर्न नेपाल रामार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दर राज काफ्ले र जिल्ला प्रहरकी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एनकुमार साई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव अर्जुन पोखरेल, वडा प्रहरी कार्यालय बैदमका प्रमुख, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित देवकोटा, पोखरा महानगरीय प्रहरी प्रमुख पुरुषोतम थापा, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङ र पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलसहित यातायात व्यवसायीका नेता, जनपथ प्रहरी, ट्राफिक प्रहरी र यातायात सम्बद्ध मजदुर संगठनका नेताहरुको समेत उपस्थिथि थियो ।
पहिलो दिन फुटपाथ क्षेत्रका सवारी साधनलाई बसपार्कमा सारेर खाली गराइएको छ । गण्डकी प्रदेशको राजधानी सहर प्रवेश गर्ने वित्तिकै देखिएको भद्रगोल हटाएर सौन्दर्यकरण र राम्रो ट्राफिक व्यवस्थापनका लागि आफूहरु फिल्डमा खटेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले जानकारी दिए । अब यसलाई निरन्तरता दिने र फुटपाथमा सवारी लैजाने र यात्रु चढाउने ओराल्नेलाई कारबाही हुने उनले प्रष्ट्याए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीकाले जनपथ, ट्राफिक प्रहरी, महानगर प्रहरी र यातायात व्यवसायीको समेत निगरानीमा फुटपाथ र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एनकुमार साईले भद्रगोल अबस्थालाई व्यस्थित गर्न आफूहरुकै अगुवाइमा पृथ्वीचोकमा खटिएको बताए । उनले अब यस्तो अवस्थाको अन्त्य हुने र व्यवस्थित बनाउन सबै लाग्नुपर्ने धारणा राखे ।
नेपाल यातायात व्यवसायी महासंघ गण्डकीका सचिव अर्जुन पौडेलले चोकमा यात्रुलाई तानातान गर्ने अवस्थाको अन्त्य हुने र फुटपाथ हिँड्नकै लागि प्रयोगमा ल्याउनका लागि पहल भएको बताए ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले फुटपाथ र ट्राफिक व्यवस्थापन चुस्त बनाउन सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले यो कार्यलाई निरन्तरता दिनुपर्ने समेत बताए ।
पृथ्वीचोकका स्थानीय अगुवा एवं फोटो पत्रकार सुर्दशन राञ्जितले फुटपाथलाई फुटपाथकै रुपमा प्रयोग गर्न र ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न निरन्तर निगरानी हुनुपर्ने बताए । विगतमा पनि केही प्रयास भएपनि निरन्तरता नपाएको गुनासो गरेका उनले अबभने साच्चै व्यवस्थित हुने अपेक्षा गरेका छन् ।













