पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकता कायम हुन्छ भने आफू महामन्त्री पद छाड्न तयार रहेको बताएका छन् ।कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सभापति भनेको संस्था हो, त्यसैले संस्थाभन्दा माथि कोही हुँदैन । केही नेताहरू स्वयं वरिष्ठ नेता हुनुहुन्छ, त्यसैले वरिष्ठ मान्न नपर्ने केही कारण छैन । उहाँहरूको योगदान मेरोभन्दा धेरै छ । यो पार्टी मिल्छ भने म महामन्त्री अहिले छाड्न तयार छु ।’

यस्तै उनले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । असोजको १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा हुने उनले बताए ।

उनले भने, ‘कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ, उक्त बैठकले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेबारे निर्णय गर्छ ।’

पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने र अलमल्याउने काम भइरहेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ता सचेत हुनुपर्ने बताए।

उनले कांग्रेस डिजिटल माध्यममार्फत सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको भन्दै अब क्रियाशील सदस्यबाटै स्थानीय तहको उम्मेदवार छान्ने व्यवस्था गरिने समेत बताए ।

  • २४ श्रावण २०८३, आईतवार १६:४८ प्रकाशित