काठमाडौं ।
पर्यटन विभागले पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ब्रोड पीक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ६ जना नेपाली आरोहीहरूको विवरण सार्वजनिक गरेको छ।
विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बेपत्ताहरूको शीघ्र खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएको छ ।
बिहीबार ब्रोड पीक आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परी विश्वविख्यात नेपाली आरोहीहरूसहित विभिन्न देशका पर्वतारोहीहरू बेपत्ता भएका थिए। यस दुःखद घटनाले विभाग स्तब्ध भएको उल्लेख गर्दै बेपत्ता आरोहीहरूको अवस्था पत्ता लगाउन र उनीहरूको उद्धारमा आवश्यक पहल तथा समन्वय गरिदिन सम्पूर्ण सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार बेपत्ता हुने नेपाली आरोहीहरूमा विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) सहित पुर बहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।
बेपत्ता भएका नेपाली आरोहीहरूको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन पाकिस्तानस्थित नेपाली दूतावासमार्फत त्यहाँको सरकारसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको विभागका निर्देशक एवं सूचना अधिकारी हिमाल गौतमले जानकारी दिए । विभागले यस संवेदनशील घडीमा सबै पक्षलाई सहयोग र धैर्यताका लागि अपिल समेत गरेको छ।














