जापानमा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या २८ पुग्यो

केन्द्रभाग मिडिया

टोकियो ।

जापानको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कुमामोतो प्रिफेक्चरमा मङ्गलवार गएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । स्थानीय अधिकारीहरूले आज ज्यान गुमाउनेको संख्या पुष्टि गरेका हुन् ।

भूकम्पका कारण घर, विद्युत् प्रसारण लाइन तथा अन्य संरचनामा व्यापक क्षति पुगेको छ । उद्धारकर्मीहरू अझै भग्नावशेषमा फसेका सम्भावित जीवित व्यक्तिहरूको खोजीमा खटिएका छन् । सबैभन्दा ठुलो क्षति कासिमास्थित एइअन शपिङ मलमा भएको छ, जहाँ दोस्रो तलाको एक भाग भत्किँदा धेरै मानिस पुरिएका थिए ।

भूकम्प गएको करिब एक घण्टापछि सोही मलमा शक्तिशाली विस्फोट पनि भएको थियो । मलका अध्यक्षका अनुसार यो ग्यास विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ, तर वास्तविक कारणको अनुसन्धान जारी छ ।

भूकम्पपछि करिब ९ हजार मानिस अस्थायी उद्धार केन्द्रमा बसिरहेका छन् भने ३० हजारभन्दा बढी घरधुरी अझै विद्युत् सेवाविहीन छन् । यसैबिच, कुमामोतो क्षेत्रमा आगामी केही दिन तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएकाले उद्धारकर्मी र विस्थापितलाई हिटस्ट्रोकबाट बच्न पर्याप्त पानी पिउन र सावधानी अपनाउन आग्रह गरिएको छ ।

जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले बुधबार ३०० वटा एयर कन्डिसनर कुमामोतो पठाइएको घोषणा गरेका छन् । जसमा १५० वटा उद्धार केन्द्रमा जडान गरिनेछ ।

भूकम्पपछि हालसम्म सयभन्दा बढी पराकम्प रेकर्ड गरिएका छन् । थप कम्पनको डरले धेरै स्थानीय बासिन्दा आफ्नै गाडीमा रात बिताइरहेका छन् ।एजेन्सी

  • १४ श्रावण २०८३, बिहीबार ११:०८ प्रकाशित