पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपति बनिन् प्रतीक्षा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन ‘प्रतीक्षा’ नियुक्त भएकी छन् । पोखरा महानगरका प्रमुख धनराज आचार्यले बुधार कुलपति, उपकुलपति, सदस्य सचिव, परिषद् सदस्य र सभा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानको उपकुलपतिमा तिलक पुर्जा पुन मगर र सदस्य–सचिवमा जीवन दाहाललाई जिम्मेवारी सहित नियुक्ति प्रदान गरेका हुन् । प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यमा श्रीजङ्ग गुरुङ, हरेराम जोजेजु, दिलीप गायक र प्रमीला ताम्राकार तुलाचन नियुक्त भएका छन् । यस्तै प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल, कृष्णप्रसाद गौतम, गमबहादुर परियार, ज्योति गुरुङ, नवराज अधिकारी, प्रेमराज अधिकारी, भास्करध्वज श्रेष्ठ, रवीन्द्र माकाजु, रिता पाहारी र शिवहरि ढुङ्गाना रहेका छन् ।

सो अवसरमा नगर प्रमुख आचार्यले प्रतिष्ठानका गतिविधिहरू मार्फत पोखरा महानगरपालिका क्षेत्रको साहित्य, कला, संस्कृति, भाषा लगायत समग्र प्राज्ञिक क्षेत्रको उन्नयन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रतिष्ठानका गतिविधिहरूलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले संस्थागत रूपमा पोखरा घरमा व्यवस्थित कार्यालय र कार्य सञ्चालनका लागि कानुनी रूपमा पर्याप्त व्यवस्था र बजेटको समेत प्रबन्ध गरिएको उनले बताए ।

उपप्रमुख मन्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले नगर क्षेत्रको साहित्य, कला, भाषा, सृजना र संस्कृतिको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन्। महानगरपालिकाले यसका गतिविधिहरूलाई चलायमान बनाउनका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्ने उनको भनाई थियो ।

नवनियुक्त कुलपति प्रतीक्षाले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्ने प्रतिबद्धता जाहेर गरेकी छन् । पोखरेली प्राज्ञिक क्षेत्रको विकास र श्रीवृद्धिमा आफूहरू समर्पित भएर लाग्ने उल्लेख गर्दै उहाँले पोखरा प्रज्ञा प्रतिष्ठानलाई नमुना प्रतिष्ठानका रूपमा स्थापित गर्ने विश्वास दिलाइन् ।

पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन, २०८२) अनुसार कुलपति लगायतका पदाधिकारीहरू नियुक्त तथा मनोनयन गरेको हो ।

  • १४ श्रावण २०८३, बिहीबार ०८:४० प्रकाशित