आधुनिक जीवनशैलीको मौन परिणाम: कलेजो रोग

पुष्पराज कोइराला

पुष्पराज कोइराला

कलेजो मानव शरीरको ‘रासायनिक प्रयोगशाला’ हो। यसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, शरीरका लागि आवश्यक प्रोटिन बनाउने, ऊर्जा सञ्चय गर्ने र रोगसँग लड्ने क्षमता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। तर विडम्बना के छ भने कलेजो बिग्रँदै जाँदा शरीरले धेरै समयसम्म कुनै स्पष्ट संकेत दिँदैन। जब लक्षण देखिन थाल्छ, धेरै अवस्थामा रोग निकै अगाडि बढिसकेको हुन्छ।

विश्व स्वास्थ्य संगठन (WHO) तथा Our World in Data मा आधारित पछिल्ला तथ्यांकले विश्वभर कलेजो रोगबाट हुने स्वास्थ्य क्षति लगातार बढिरहेको देखाउँछन्। विशेषगरी मेटाबोलिक डिस्फङ्सन–एसोसिएटेड स्टियाटोटिक लिभर डिजिज (MASLD) अर्थात् जीवनशैलीसँग सम्बन्धित फ्याटी लिभर अहिले विश्वकै प्रमुख स्वास्थ्य चुनौतीमध्ये एक बन्दै गएको छ। प्रयोग गरिएको विश्वव्यापी तथ्यांकले सन् १९९० देखि २०२३ सम्म कलेजो रोगबाट हुने रोगभार निरन्तर उकालो लागेको देखाउँछ।

नेपाल पनि यस प्रवृत्तिबाट अछुतो छैन। WHO नेपालका अनुसार पुरुषहरूको मृत्युका प्रमुख कारणहरूमध्ये लिभर सिरोसिस उल्लेखनीय स्थानमा रहेको छ। यो तथ्यले एउटा गम्भीर प्रश्न उठाउँछ—के हामी वास्तवमै कलेजोको स्वास्थ्यप्रति सजग छौं?

हामीमध्ये धेरैको बुझाइमा कलेजो रोग भनेको मदिरा सेवन गर्ने व्यक्तिको मात्र समस्या हो। यो आधा सत्य हो। मदिराले निश्चित रूपमा कलेजोलाई क्षति पुर्‍याउँछ, तर आज अस्पतालहरूमा मदिरा नछुने व्यक्तिमा समेत फ्याटी लिभर, लिभर फाइब्रोसिस र सिरोसिस देखिन थालेको छ। यसको प्रमुख कारण मोटोपना, मधुमेह, असन्तुलित आहार, प्रशोधित खाना, चिनीको अत्यधिक सेवन, शारीरिक निष्क्रियता र बढ्दो मानसिक तनाव हुन्। अर्थात् अहिले कलेजो रोग हाम्रो दैनिक जीवनशैलीको ऐना बनेको छ।

सार्वजनिक स्वास्थ्यको दृष्टिले रोग केवल शरीरको समस्या होइन, समाजको पनि प्रतिबिम्ब हो। कुनै समाजमा मानिस कसरी खान्छन्, कति हिँड्छन्, कस्तो काम गर्छन्, कस्तो सामाजिक दबाबमा बाँच्छन् र स्वास्थ्यलाई कति प्राथमिकता दिन्छन् भन्ने कुराले रोगको स्वरूप निर्धारण गर्छ। नेपालमा पछिल्लो दशकमा तीव्र शहरीकरण, कार्यालयमुखी जीवन, फास्टफुड संस्कृति, डिजिटल जीवनशैली र व्यायामको कमीले हाम्रो शरीर मात्र होइन, कलेजोलाई पनि प्रत्यक्ष असर गरिरहेको छ।

समाजशास्त्रीहरूले स्वास्थ्यलाई केवल अस्पतालको विषय मान्दैनन्। उनीहरूका अनुसार स्वास्थ्य सामाजिक व्यवहार, आर्थिक अवस्था, संस्कृति र राज्यका नीतिसँग गाँसिएको हुन्छ। नेपालमा अझै पनि धेरै मानिस स्वास्थ्य परीक्षणलाई खर्च ठान्छन्, तर रोग जटिल भएपछि लाखौं रुपैयाँ उपचारमा खर्च गर्न बाध्य हुन्छन्। यो हाम्रो स्वास्थ्य संस्कृतिको ठूलो कमजोरी हो।

मानवशास्त्रीय दृष्टिले हेर्दा हाम्रो समाजमा रोगबारे धेरै भ्रम छन्। गाउँदेखि शहरसम्म ‘घरेलु जडीबुटीले सबै रोग निको हुन्छ’, ‘फ्याटी लिभर आफैँ निको हुन्छ’, ‘दुखाइ छैन भने परीक्षण किन गर्ने?’ जस्ता धारणाले धेरैलाई समयमै अस्पताल पुग्न दिँदैन। कतिपयले त चिकित्सकको सल्लाहबिना विभिन्न औषधि र सप्लिमेन्ट प्रयोग गर्छन्, जसले उल्टै कलेजोलाई थप क्षति पुर्‍याउन सक्छ।

हामीले अर्को सामाजिक पक्ष पनि स्वीकार्नुपर्छ। नेपाली समाजमा मदिरा धेरै सामाजिक सम्बन्धको माध्यम बनेको छ। विवाह, भोज, उत्सव, भेटघाट वा व्यावसायिक जमघट—धेरै ठाउँमा मदिरा आतिथ्यको प्रतीकझैँ बनेको छ। यस्तो सामाजिक संस्कृतिमा मदिरा सेवन नगर्ने व्यक्तिले कहिलेकाहीँ असहज महसुस गर्नुपर्ने अवस्था सिर्जना हुन्छ। स्वास्थ्यभन्दा सामाजिक स्वीकार्यता ठूलो देखिनु आफैंमा सार्वजनिक स्वास्थ्यको चुनौती हो।

त्यस्तै, महिलाहरूले आफ्नै स्वास्थ्यभन्दा परिवारको स्वास्थ्यलाई प्राथमिकता दिने प्रवृत्ति अझै बलियो छ। पुरुषहरू भने ‘म बलियो छु, मलाई केही हुँदैन’ भन्ने मनोवृत्तिका कारण नियमित परीक्षणबाट टाढा रहन्छन्। परिणामस्वरूप रोग पहिचान हुने समय ढिलो हुन्छ। यसले देखाउँछ कि कलेजो रोगको समाधान औषधिमा मात्र होइन, व्यवहार परिवर्तनमा पनि निर्भर छ।

विश्व हेपाटाइटिस दिवसले हामीलाई अर्को महत्त्वपूर्ण सन्देश पनि दिन्छ—रोकथाम उपचारभन्दा सधैं प्रभावकारी सस्तो हुन्छ। हेपाटाइटिस बी विरुद्धको खोप, सुरक्षित रगत तथा सुईको प्रयोग, नियमित स्वास्थ्य परीक्षण, स्वस्थ तौल, दैनिक शारीरिक गतिविधि, सन्तुलित भोजन र मदिरा नियन्त्रणले कलेजो रोगको ठूलो हिस्सा रोक्न सकिन्छ।

आज फ्याटी लिभरको प्रारम्भिक अवस्था सामान्य जीवनशैली सुधारबाट नियन्त्रण गर्न सकिने प्रमाणहरू पर्याप्त छन्। तर समस्या के हो भने अधिकांश मानिसलाई आफ्नो कलेजोमा समस्या छ भन्ने जानकारी नै हुँदैन। त्यसैले जोखिम समूहका व्यक्तिले नियमित रूपमा Liver Function Test (LFT), हेपाटाइटिस बी र सीको परीक्षण तथा आवश्यक परे अल्ट्रासाउन्ड गराउनु अत्यन्त आवश्यक छ।

राज्यको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। कलेजो रोगबारे विद्यालयदेखि समुदायसम्म स्वास्थ्य शिक्षा विस्तार गर्नुपर्छ। स्थानीय तहले नियमित स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ। कार्यस्थलहरूमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम हुनुपर्छ। सञ्चारमाध्यमले रोग लागेपछि मात्र होइन, रोग लाग्नुअघि सचेतना फैलाउने अभियानलाई प्राथमिकता दिनुपर्छ। स्वास्थ्य प्रणाली उपचारमुखीभन्दा रोकथाममुखी बन्न सके मात्रै कलेजो रोगको बढ्दो भार घटाउन सकिन्छ।

विश्व हेपाटाइटिस दिवस २०२६ को सन्देश यही हो—स्वस्थ कलेजो बिना स्वस्थ जीवन सम्भव छैन। कलेजो रोगलाई मौन महामारीकै रूपमा छोड्ने कि समयमै सचेत भएर रोक्ने भन्ने निर्णय आज हाम्रो हातमा छ। आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्नु व्यक्तिगत कर्तव्य मात्र होइन, परिवार र समाजप्रतिको उत्तरदायित्व पनि हो।

हामीले स्वास्थ्यलाई बिरामी भएपछि सम्झिने बानी बदल्न सक्यौं भने मात्र भविष्यका पुस्तालाई स्वस्थ समाज हस्तान्तरण गर्न सक्नेछौं। कलेजोको स्वास्थ्य जोगाउनु भनेको केवल एउटा अंग जोगाउनु होइन; त्यो स्वस्थ जीवन, स्वस्थ परिवार र स्वस्थ राष्ट्र निर्माणको आधार तयार गर्नु हो।

(लेखक सार्वजनिक स्वास्थ्य, समाजशास्त्र तथा मानवशास्त्रका विषयमा अध्ययन लेखन गर्दै आएका छन्।)

  • १३ श्रावण २०८३, बुधबार १२:११ प्रकाशित