बाजुरामा बस्तीमा बाढी पस्यो, १०० बढी गाउँ उच्च जोखिममा

केन्द्रभाग मिडिया

धनगढी ।

बाजुरामा बाढी बस्तीमा पसेको छ । बडिमालिका नगरपालिका–९ को सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बस्तीमा बाढी पसेको हो। बाढी बस्तीमा पसेपछि जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)शैलेश्वरी बोहराका अनुसार बिहीबार राति नै जोखिममा परेका घरका सामानसहित उद्धार गरेर सुरक्षित स्थानमा राखिएको हो । उनीहरुलाई तत्काल नजिकै सुरक्षित अवस्थामा रहेका स्थानीयकै घरमा राखिएको डिएसपी बोहराले जानकारी दिइन् ।

१३ मध्ये तीन घर भने बाढीको उच्च जोखिममा छन् ।

यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका दुई ठाउँमा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बाजुराका ९ वटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

भिरालो र कमजोर भू-बनोट, नदी कटान, अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण सिंगो जिल्ला विपद्को उच्च जोखिममा परेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार जिल्लाका ९ वटै स्थानीय तह उच्च जोखिममा छन् । बाजुराका करिब १५० बस्ती बाढीपहिरो जस्ता विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जिल्ला विपद् प्रतिकार्य योजनामा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

  • ८ श्रावण २०८३, शुक्रबार ११:२१ प्रकाशित