काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले अनसन सुरु गरेका छन् । कैलालीको धनगढीबाट डा.केसीले २४ औँ सत्याग्रह सुरु गरेको डा.अमृत जैशीले जानकारी दिए ।
डा. केसीले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनसन सुरु गरेका छन् । सुदूरपश्चिममा उनलाई आमरण अनसन स्थगित गर्न आग्रह गर्ने क्रम बढेको थियो।
गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेका बेला सत्याग्रहले विश्वविद्यालय सञ्चालन प्रक्रिया प्रभावित हुन सक्ने चिन्ता व्यक्त गर्दै राजनीतिक दल, विद्यार्थी सङ्गठन, नागरिक अगुवा र स्थानीयले आन्दोलन रोक्न आग्रह गरेका थिए ।
सरकारले विगतका सहमति कार्यान्वयन नगरेको, चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुन विपरीत नियुक्ति गरिएको तथा ती निर्णय सच्याउनुपर्ने माग राख्दै उनी पुनः सत्याग्रहमा बसेका हुन्।














