महेन्द्रनगर ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा आएका छन् ।
भीमदत्त नगरपालिका–१९ का अध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन् । सम्पर्कमा आएका महिलाहरूले बताए अनुसार जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिँदा सम्पर्कविहीन भएका हुन् ।
परिवारको सम्पर्कमा आएका उनीहरूको अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ ।
उनीहरू आइतबार बिहान ११ बजे च्याउन खोज्न जंगल पसेका थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले पनि उनीहरू केहीबेर अघि मात्रै परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको बताए
आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो ।
उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ ।













