काठमाडौं।
बिहीबार त्रिपुरेश्वरमा आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेका गणेश नेपालीको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले समय माग गरेर सो विषय उठाएकी हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाले रान्यलाई गिज्याइरहेको बताएको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक वासना थापाले राज्यको असफलताका कारण युवाहरूले मृत्यु रोज्नुपर्ने अवस्था आएको बताइन् । ‘२०७९ माघ १० गते प्रेम आचार्यले संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौँका मेयर बालेन शाहले लेखेको स्ट्याटस प्रधानमन्त्रीज्यूले बिर्सनुभयो कि सम्झनुभएको छ ? हिजोको घटनामा तपाईंको मौनता किन,’ थापाले भनिन् ।
सांसद थापाले गणेश नेपालीले शरीरमा आगो सल्किदा राज्यले एम्बुलेन्स पठाउनुको साटो प्रहरी लगाएर अपराधीलाई झैँ घिसारेर लगेको भन्दै आपत्ति जनाइन् ।
‘म सरकारलाई सोध्न चाहन्छु— यो उद्धार हो कि गिरफ्तारी हो सरकार ? के ऊ देशद्रोही हो ? उसको गल्ती यति मात्र हो कि ऊ यो देशमा जन्मियो र यहीँ केही गर्ने प्रण गर्यो,’ थापाले भनिन् ।
नयाँ सरकार आएपछि पनि सुकुमबासीको उठिबास र युवाहरूको आत्महत्याको सिलसिला नरोकिएको भन्दै सांसद थापाले सरकार सामाजिक सञ्जाल र डिजिटल मोहमा मात्र केन्द्रित भएको आरोप लगाइन् । उनले १७ वर्षीय रविन तामाङ, ६१ वर्षीय इन्द्रबहादुर राई र धोबीखोलामा हाम फाल्ने सुकुमबासी महिलाको उदाहरण दिँदै राज्य यति साह्रो निरीह र असफल किन भएको भनी प्रश्न गरिन् ।
प्रधानमन्त्री वालेन्द्र शाहलाई थापाले भनिन्, ‘प्रधानमन्त्रीज्यू, अब कालो चस्मा खोल्ने बेला आएको छ । साझा यातायातको हरियो बसलाई निलो पोतेर मात्र नागरिकले सुरक्षा महसुस गर्दैनन् । सुरक्षा तब महसुस हुन्छ, जब राज्यले न्याय दिन्छ, रोजगारी सिर्जना गर्छ र सुशासन कायम गर्छ ।’
सांसद थापाले सवारी साधनमा लगाइएको चर्को जरिवाना र राज्यको संवेदनहीन नीतिले युवाहरूलाई निराश बनाएको उल्लेख गर्दै मृतक गणेश नेपालीको अनुहार हेरेर भए पनि सरकारले आफ्नो कार्यशैली सच्याउनुपर्ने बताइन् ।












