इजिप्टमाथि सनसनीपूर्ण जित निकाल्दै अर्जेन्टिना क्वाटरफाइनलमा

केन्द्रभाग मिडिया

पोखरा ।

साविक विश्वकप विजेता अर्जेन्टिना इजिप्टमाथि सनसनीपूर्ण जित निकाल्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । इजिप्टसंग २–० ले पछि परेको कठिन अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले सनसनीपूर्ण जित हात पारेको हो । इजिप्टमाथि अर्जेजटिनाले ३–२ को जित निकालेको हो ।

खेलको १५ औं मिनेटमा यासेर इब्राहिम र ६७ औं मिनेटमा मोस्ताफा जिकोको गोलमार्फत इजिप्टले २–० को अप्रत्याशित अग्रता लिएको थियो । तर, खेलको अन्तिम १० मिनेटमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो । ७९ औं मिनेटमा लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए भने ८३ औं मिनेटमा मेसी आफैंले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए । एन्जोको यो गोलका लागि लाउटारो मार्टिनेजले असिस्ट उपलब्ध गराएका थिए ।
आजको गोलसँगै कप्तान लियोनल मेसी यस विश्वकपमा ८ गोलसहित शीर्ष स्थानमा उक्लिएका छन् भने विश्वकप इतिहासमा उनको कुल गोल संख्या २१ पुगेको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा इजिप्टको ऐतिहासिक विश्वकप यात्रा समाप्त भएको छ । उत्कृष्ट प्रदर्शनका बाबजुद इजिप्ट प्रतियोगिताबाट बाहिरिएको छ भने अर्जेन्टिनाले अब क्वाटरफाइनलमा स्विजरल्याण्ड वा कोलम्बियामध्ये एकको सामना गर्नेछ ।

  • २४ असार २०८३, बुधबार ००:०९ प्रकाशित