काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा डा. सुरेश आचार्य नियुक्त भएका छन्।नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्।
शर्माले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा डा. आचार्यलाई नियुक्त गरेका हुन्। भक्तपुर निवासी डा. आचार्यको यो नियुक्ति विधानको धारा ३६ (घ) बमोजिम आगामी २०८३ साउन १ गतेदेखि लागू हुनेछ।
नवनियुक्त डा.आचार्यसँग विभिन्न क्षेत्रमा काम गरेको लामो अनुभव छ। उनी नेपाली कांग्रेस प्रचार विभागका पूर्व उपप्रमुख हुन्। यसका साथै उनले राष्ट्रिय सूचना आयोगको पूर्व प्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासंघको पूर्व सभापतिका रूपमा समेत आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका छन्।












