पोखरा ।
हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा ३/४ दिनमा मनसुन बिस्तार हुने सम्भावना छ ।
हाल कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल लागेको छ मधेश, बागमती, सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी प्रदेशका तराई भूभाग तथा मधेश प्रदेशका थोरै स्थानमा, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तातो लहर हुने सम्भावना छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी प्रदेशका तराई भूभाग तथा मधेश प्रदेशको केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।












