गृहको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो

केन्द्रभाग मिडिया

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय मनाङ गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा उत्कृष्ट देखिएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा पनि मनाङले अरू प्रशासन कार्यालयहरूलाई उछिनेको हो ।मन्त्रालयले सार्वजनिक गरेको मूल्याङ्कन नतिजाअनुसार कुल १८.२५ पूर्णाङकमा मनाङले १८ अङ्क प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको म्याग्दीले १७.८७५ अङ्क ल्याएका छन् । भक्तपुर र रसुवाले समान १७.६२५ अङ्क ल्याएर तेस्रो भएका छन् ।

कास्की १० औं स्थानमा रहेको छ । कास्कीले १७. १२५ अकं प्राप्त गरेको छ ।

मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ २.५ अङ्कसहित ७६औँ स्थानमा रहेको छ भने धनुषा १.६८७५ अङ्कसहित ७७औँ स्थानमा छन् ।उपसचिव नवराज पौड्याल प्रमुख जिल्ला अधिकारी रहेको मनाङले यसअघिका पहिलो र दोस्रो त्रैमासिकमा पनि पहिलो स्थान हासिल गरेको थियो ।

यसअघि सार्वजनिक पहिलो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङले २९.२५ पूर्णाङ्कमध्ये २८.७५ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो।

त्यसपछि दोस्रो त्रैमासिक मूल्याङ्कनमा २०.२५ पूर्णाङ्कमध्ये १९.५ अङ्क प्राप्त गर्दै पहिलो बनेको थियो।गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैली तथा अन्य निर्धारित सूचक र मापदण्डका आधारमा प्रत्येक त्रैमासिक नियमित रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ।

  • १२ असार २०८३, शुक्रबार १६:१२ प्रकाशित