पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७० करोड ४६ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको १९ औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष सीता अधिकारीले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, सुशासन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताइन्।
‘समृद्ध गाउँपालिका स् सुखी नागरिक’ भन्ने मूल उद्देश्यलाई आत्मसात गर्दै ल्याइएको बजेटले गाउँपालिकाभित्रको समतामूलक विकास, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा नागरिकको जीवनस्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको उपाध्यक्ष अधिकारीले बताइन् ।
बजेटमा चालुतर्फ ४८ करोड ७७ लाख २४ हजार रुपैयाँ अर्थात् ६९.०४ प्रतिशत र पुँजीगततर्फ २१ करोड ६९ लाख ४६ हजार रुपैयाँ अर्थात् ३०.९६ प्रतिशत विनियोजन गरिएको छ। गाउँपालिकाले आगामी वर्षका लागि आन्तरिक राजस्वबाट ४ करोड ६० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।
क्षेत्रगत रूपमा सबैभन्दा बढी बजेट सामाजिक विकासतर्फ विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रका लागि ३३ करोड ९४ लाख ९२ हजार रुपैयाँ छुट्याइएको छ भने पूर्वाधार विकासतर्फ १५ करोड ९५ लाख ९२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ करोड ६० लाख ६० हजार र आर्थिक विकासतर्फ ३ करोड १४ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षा क्षेत्रलाई बजेटले विशेष प्राथमिकता दिएको छ। बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा सामुदायिक सिकाइ केन्द्रका परिचालकहरूको सेवा–सुविधा व्यवस्थापनका लागि १ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ। यस्तै कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउन ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिका स्तरीय अध्यक्ष कप तथा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनका लागि २८ लाख ५० हजार रुपैयाँ बजेट राखिएको छ ।
स्वास्थ्य क्षेत्रतर्फ स्वास्थ्य प्रवर्द्धन केन्द्र लाहाचोकमा सेवा विस्तार र उपकरण खरिदका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। पाठेघर मुख तथा स्तन क्यान्सर परीक्षण तथा उपचार कार्यक्रमलाई निरन्तरता दिन ६ लाख रुपैयाँ छुट्याइएको छ। गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधि वितरणका लागि १७ लाख रुपैयाँ विनियोजन गरिएको छ। समग्र स्वास्थ्य तथा आरोग्यता कार्यक्रमका लागि ६ करोड ८६ लाख ८६ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।
पूर्वाधार विकासतर्फ गाउँपालिकाले रणनीतिक सडकहरूको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । कोलचोक–रातोपानी पुल–लाहाचोक हुँदै देउरालीसम्मको सडक स्तरोन्नतिका लागि ४ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयन गरिने भएको छ । तातोपानी क्षेत्र पुग्ने सडक तथा खुमै पदमार्ग प्रवेश सडकको स्तरोन्नतिका लागि पनि बजेट व्यवस्था गरिएको छ । नागरिक सहभागितामा विकास आयोजना सञ्चालन गर्ने उद्देश्यले ‘माछापुच्छ्रेको ताकत जनताको लागत’ कार्यक्रमका लागि ९० लाख रुपैयाँ छुट्याइएको छ ।
कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम घोषणा गरिएको छ । कृषकको मागमा आधारित कार्यक्रमका लागि १५ लाख, मौरी पकेट क्षेत्र विकासका लागि १२ लाख, कृषि उत्पादन संकलन केन्द्र स्थापना गर्न ५ लाख तथा कृषि प्रयोगशाला स्थापना गर्न ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पर्यटन क्षेत्रको विकासका लागि विभिन्न पदमार्ग निर्माण, पर्यटकीय सूचना प्रणाली तथा उद्धार व्यवस्थापनका कार्यक्रम समेटिएका छन् । घले गुरुङ संग्रहालय निर्माण, मनाङ कप प्रतियोगिता सञ्चालन तथा विभिन्न पर्यटकीय पदमार्ग विकासका कार्यक्रमलाई समेत बजेटले प्राथमिकता दिएको छ ।
उपाध्यक्ष अधिकारीले सीमित स्रोत–साधनका बाबजुद नागरिकका आवश्यकता, सुझाव र स्थानीय प्राथमिकतालाई समेटेर बजेट तयार गरिएको बताउँदै बजेट कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन् । उनले प्रस्तुत बजेटले समृद्ध, आत्मनिर्भर र समावेशी माछापुच्छ्रे निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरिन् ।












