जर्मन दूतावासको सहयोगमा नेस्ट पोखराद्वारा शिववस्तीमा हस्तकला तालिम

केन्द्रभाग मिडिया

पोखरा ।

नेस्ट पोखराले जर्मन दूतावासको सहयोगमा पोखरा महानगरपालिका वडा नं.१५ अन्तर्गत गलेश्वर (शिववस्ती) स्थित सुकुम्बासी बस्तीका महिलाहरूलाई लक्षित गरी जीविकोपार्जन तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले हस्तकला तालिम सञ्चालन गरेको छ।

तालिमको उद्घाटन नेस्ट पोखराकी कार्यवाहक अध्यक्ष कमलादेवी श्रेष्ठको अध्यक्षता तथा वडा नं. १५ का वडा अध्यक्ष तोरण बानियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियार, वडा सदस्य सेतीमाया गुरुङ, नेस्ट पोखराका कार्यसमिति सदस्य डा. पदमराज श्रेष्ठ, कार्यसमिति सदस्य हिरा कुमारी गुरुङ, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, आमा समूहका प्रतिनिधि तथा समुदायका सदस्यहरू गरी करिब ४५ जनाको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नेस्ट पोखराका कार्यक्रम व्यवस्थापक हरि प्रसाद लुइटेलले गरेका थिए ।

कार्यक्रममा बोल्दै नेस्ट पोखराका कार्यसमिति सदस्य डा. पदमराज श्रेष्ठले समुदायको दिगो आर्थिक विकासका लागि सीप विकास, उत्पादन र बजार व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।

उनले तालिम केवल ज्ञान र सीप हस्तान्तरणमा सीमित नरही सहभागी महिलाहरूलाई आयआर्जन र आत्मनिर्भरताको मार्गमा अग्रसर गराउने उद्देश्यका साथ सञ्चालन गरिएको बताए ।

‘महिलाहरूमा अपार सम्भावना र सिर्जनशीलता रहेको छ। उचित अवसर, सीप र बजारको पहुँच उपलब्ध गराउन सकियो भने उहाँहरू परिवारको मात्र नभई समग्र समुदायको आर्थिक समृद्धिका संवाहक बन्न सक्नुहुन्छ,’ उनले भने।

डा.श्रेष्ठले नेस्ट पोखराले विगतदेखि नै समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै यस तालिमबाट उत्पादन भएका सामग्रीहरूको बजारीकरण, उद्यम विकास तथा आयआर्जन अभिवृद्धिका लागि संस्थाले आवश्यक सहजीकरण र सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सीप विकासलाई दिगो जीविकोपार्जनसँग जोड्न सकिएमा गरिबी न्यूनीकरण र समुदायको जीवनस्तर सुधारमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने धारणा राखे।

वडा सदस्य सेतीमाया गुरुङले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै घरपरिवारको आर्थिक स्तर उकास्न सहभागीहरूलाई आग्रह गरे। उनले तालिमलाई अवसरका रूपमा उपयोग गरी स्वरोजगारको बाटो रोज्नुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि वडा अध्यक्ष तोरण बानियाले वडा नं. १५ लाई कार्यक्रम सञ्चालनका लागि छनोट गरेकोमा जर्मन दूतावास र नेस्ट पोखराप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रमहरू समुदायको आर्थिक रूपान्तरणका लागि प्रभावकारी माध्यम भएको बताए।

उनले सुकुम्बासी तथा विपन्न समुदायका महिलाहरूलाई सीप, अवसर र बजारसँग जोड्न सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुने, बेरोजगारी न्यूनीकरण हुने तथा आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिने धारणा व्यक्त गरे।

‘विकास केवल भौतिक पूर्वाधार निर्माणबाट मात्र सम्भव हुँदैन, समुदायका नागरिकहरूको क्षमता विकास र आर्थिक सशक्तीकरणबाट दिगो विकास सम्भव हुन्छ,’ भन्दै उनले यस्ता कार्यक्रमले सामाजिक तथा आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

वडा अध्यक्ष बानियाले स्थानीय स्रोत, सीप र श्रमको अधिकतम उपयोग गरी गुणस्तरीय उत्पादन गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सकिने सम्भावना रहेको उल्लेख गरे। उनले महिलाहरूलाई तालिमलाई अवसरका रूपमा ग्रहण गर्दै उद्यमशीलताको यात्रामा अघि बढ्न आग्रह गरे।

कार्यक्रमको अध्यक्षता गर्दै नेस्ट पोखराकी कार्यवाहक अध्यक्ष कमलादेवी श्रेष्ठले सुकुम्बासी समुदायमा देखिएका आर्थिक तथा शैक्षिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले जर्मन दूतावासको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको बताए।

महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता तथा सामाजिक विकासलाई केन्द्रमा राखेर तालिम सञ्चालन गरिएको उल्लेख गर्दै उनले सहभागीहरूलाई तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।

उनले कार्यक्रम कार्यान्वयनमा सहजीकरण गरेको वडा कार्यालयप्रति विशेष धन्यवाद व्यक्त गर्दै सम्पूर्ण सहभागीहरूको सफलताको कामना गरे।

नेस्ट पोखराका अनुसार तालिमले सुकुम्बासी समुदायका महिलाहरूलाई सीप विकास, स्वरोजगार तथा दिगो आयआर्जनका अवसर सिर्जना गर्दै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उद्घाटन सत्रको अन्त्यसँगै तालिम औपचारिक रूपमा सुरु भएको छ।

  • १० असार २०८३, बुधबार १७:१९ प्रकाशित