कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिनेछ।

कार्यतालिकामा गत जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै, नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि असार २० गतेसम्म सम्पन्न गरिने कांग्रेसले जनाएको छ।

कांग्रेसले नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ वितरण र कांग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको कामसमेत सोही अवधिभित्र टुङ्ग्याउने भएको छ।

कार्यतालिकामा उल्लेख भएअनुसार अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने काम भने असार महिनाभर सञ्चालन हुने कांग्रेसले जनाएको छ।

विशेष महाधिवेशनपछि पार्टीको सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने अभियानअन्तर्गत कांग्रेसले अनलाइन प्रणालीमार्फत सदस्यता अद्यावधिकको प्रक्रिया अघि बढाइरहेको छ। पार्टी नेतृत्वले क्रियाशील सदस्यताको तथ्यांकलाई पारदर्शी, विश्वसनीय र अद्यावधिक बनाउने उद्देश्यका साथ यो प्रक्रिया सञ्चालन गरिएको जनाएको छ।

पार्टीभित्र सदस्यता व्यवस्थापनलाई लिएर देखिएका विवादका बीच सार्वजनिक गरिएको नयाँ कार्यतालिकालाई १५औँ महाधिवेशनको तयारीसँगकै रुपमा हेरिएको छ। कांग्रेसले निर्धारित प्रक्रियाअनुसार सदस्यता व्यवस्थापन पूरा गरेर आगामी महाधिवेशनलाई व्यवस्थित र विवादरहित बनाउन जोड दिएको छ।

  • १० असार २०८३, बुधबार ११:४५ प्रकाशित