पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २०, भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वडा कार्यालयले आयोजना गरेको शिविरबाट वडाका १ सय ५० बढी स्थानीयले स्वास्थ्य सेवा र परामर्श लिएका छन् । नेपाल मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा मुख्य गरी नाक, कान र घाँटी सम्बन्धि उपचार गरिएको वडा सदस्य गञ्जमान गुरुङले जानकारी दिए ।
अस्पतालका डाक्टर सुजन गौतम,डा।दीपेन रानाभाटको नेतृत्वमा खट्टिएको विशेषज्ञसहितको टोलीले सहभागिको स्वास्थ्य जाँच गर्दै, आवश्यक औषधी र परामर्श दिएका थिए । शिविरको उद्घाटन गर्दै वडाध्यक्ष गंगाबहादुर खत्रीले आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार भएको बताए ।
उनले स्थानीय स्तरमा प्रदान गरिने स्वास्थ्य सेवाले नागरिकको अधिकारलाई सुनिश्चित गरेको स्पष्ट पारे । वडा सदस्य गञ्जमान गुरुङले स्थानीय सरकार नागरिकका हरेक समस्यामा सँगै रहेको बताउँदै, आफुहरु निर्वाचित भएर आएपछि बिभिन्न सेवालाई नागरिकका घर घरमा पुर्याउने गरेको बताए ।
शिविरको व्यवस्थापन गरेका वडा सचिव रामप्रसाद तिवारी,भलाम स्वास्थ्य चौकीका प्रमुख विलासचन्द्र पौडेललगायतले जन स्वास्थ्यका विषयमा जानकारी गराएका थिए ।
सो शिविरमा प्राविधिक सहयोग गरेको मणिपाल शिक्षण अस्पतालले त्यस वडाका सेवाग्राहीलाई बहिरंग सेवामा ५०, विशेष परिक्षणमा २५ र १५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।













