पोखरा-१२ मा रङ र कल्पनाको उत्सव

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा हिल पोइन्ट स्कुलको सहकार्यमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीहरूमा सिर्जनशीलता, कलात्मक क्षमता तथा रचनात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वडा भित्र तथा पोखराका विभिन्न ४३ विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वातावरण संरक्षण, सामाजिक सद्भाव, शिक्षा, संस्कृति तथा समसामयिक विषयवस्तुलाई चित्रमार्फत आकर्षक ढङ्गले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै वडा नं. १२ का अध्यक्ष सन्तोष बास्तोलाले चित्रकलाजस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।

हिल पोइन्ट स्कुलका प्रधानाध्यापक दिवाकर जोशीले विद्यालय र स्थानीय तहबीचको सहकार्यबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

प्रतियोगितामा विभिन्न तहका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो । निर्णायक मण्डल बुद्धि गुरुङ र अशोक बरालको टिमले चित्रको विषयवस्तु, प्रस्तुति, मौलिकता र सन्देशका आधारमा उत्कृष्ट चित्र छनोट गरेको थियो । विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको वडा सचिव शारदा सापकोटाले बताए ।

प्रथम स्थान हिल पोइन्ट स्कुलकी युमिका गुरुङले हासिल गरिन भने दोस्रो स्थान ग्लोबल स्कुलकी ओशिका गुरुङले प्राप्त गरिन । त्यसैगरी तेस्रो र सान्त्वना स्थान क्रमशः सोसिएल पब्लिक स्कुलका अर्भिनल गुरुङ र हावर्ड स्कुलका दिपसन विकले हासिल गरे ।

कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा कला प्रतिको रुचि अभिवृद्धि गर्नुका साथै उनीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन ।

  • ७ असार २०८३, आईतवार १९:२३ प्रकाशित