राहदानी छपाइ प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान

केन्द्रभाग मिडिया

काठमाडौं ।

राहदानी छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियारले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ ।

शुक्रबार श्रेष्ठसँग आयोगको मुख्यालय टंगालमा बयान लिएको आयोगले जनाएको छ । अनुसन्धान अधिकृतहरूले राहदानीको ठेक्का प्रक्रियाबारे श्रेष्ठसँग बयान लिएका हुन् ।

पुष्कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको मन्त्रिपरिषद्मा श्रेष्ठ २०८० फागुनमा परराष्ट्र मन्त्री बनेका थिए । श्रेष्ठ २०६८ मा पनि उपप्रधान तथा पराराष्ट्रमन्त्री थिए ।

राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि बयानमा आउने ३ दिनको म्याद दिएको थियो । अख्तियारले असार २ मा पूर्वपरराष्ट्रमन्त्री देउवाको बुढानिलकण्ठ स्थित घर ठेगानामा म्याद टाँस गरेको भए पनि उनी उपस्थित भइनन् । राणाले अख्तियारलाई इमेल गरे आफू विदेशमा रहेको जानकारी गराउँदै भनेकी छन्, ‘३ दिनभित्र आउन सक्दिँन ।’

भर्चुअल माध्यमबाट बयान गराउन सम्भव नभए उनले पठाएको इमेलको विवरण मिसिलमा राखेर विशेष अदालतमा अभियोग दायर गर्ने अख्तियारको तयारी छ ।

राहदानी छपाइ प्रकरणमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पूर्व सचिव एवम् नेपालका लागी बेल्जियमका राजदूत सेवा लम्सालसँग पनि अख्तियारका अनुसन्धान अधिकृतहरूले बयान लिएका छन् । नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री हुँदा लम्साल पररारष्ट्र सचिव थिइन् । विद्युत्तिय राहदानीको टेण्डर प्रक्रिया हुँदा अहिलेका सचिव राई सह सचिवको रुपमा मन्त्रालयमा कार्यरत थिए ।

बेल्जियममा रहेकी लम्सालसँग भर्चुअल माध्यमबाट बयान लिइएको आयोगका एक पदाधिकारीले पुष्टि गरे । विद्युतीय राहदानी प्रकरणमा अहिलेसम्म २५ जनाको बयान सकिएको छ ।

  • ७ असार २०८३, आईतवार १६:३० प्रकाशित