भारतबाट ब्रान्डेड रक्सी चोरी नेपाल ल्याई बेच्ने ४ जना पक्राउः डेढ करोड बराबरको रक्सी बरामद

केन्द्रभाग मिडिया

पोखरा ।

भारतबाट महंगा ब्रान्डका रक्सी चोरेर नेपाल ल्याई बेच्ने ४ नेपाली पक्राउ परेका छन् ।

प्रकाउ पर्नेमा पर्सा जिल्ला गादी गा.वि.स वडा नम्बार ८ घर भई काठमाडौंको कपन बस्ने ३९ वर्षीय सन्तोष चन्द्र बख्रेल काठमाडौं कागेश्वरीमनहरा ६ का ३० वर्षीय शैलेश पन्त,पर्सा सुवर्णपुर गाविस वडा नं ५ घर भई हाल काठमाडौंको हाडिगाँउ बस्ने वर्ष २८ का रविन पाख्रिन र सर्लाही वरहथवा वडा नं ९ घर भई हाल काठमाडौंको चावहिलमा बस्ने वर्ष ३८ का नारायण प्रसाद घिमिरे रहेको महानगरीय अपराध महाशाखा काठमाडौंले जानकारी दिएको छ ।

उनीहरुले रेड लेबल, ब्ल्याक लेबल, एब्सोल्युट भोड्का, चिभास रेगल लगायतका महंगा ब्रान्डका रक्सीहरु भरतबाट चोरेर ल्याई नेपालमा बेचबिखन गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले माघ १४ गते पक्राउ गरेको थियो ।

प्रहरीको अनुसार उनीहरुलाई आज थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभव ललितपुर पठाईएको छ ।

उनीहरुको साथबाट २९६ कार्टुन रक्सी बरामद भएको छ । बरामद भएको रक्सीको मुल्य अन्दाजी एक करोड पचास लाख रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा रवि भन्ने भारतीय नागरिक र नेपाली नागरिक सन्तोष चन्द्र बख्रेलले विगत ३ महिना अगाडि पहिलो पटक १६० कार्टुन , दोस्रो पटक २०० र तेस्रो पटक ३०० गरि ६६० कार्टुन रक्सी विक्रिवितरण गरिसकेको खुल्न आएको छ।

  • १६ माघ २०७८, आईतवार १३:०४ प्रकाशित