काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै हालतमा नेतृत्व नछाड्ने प्रष्ट्याएका छन् । एमालेका एक पदाधिकारीका अनुसार जारी आठौं सचिवालय बैठकमा सदस्यहरूले राखेको धारणा सुन्दै अध्यक्ष ओलीले नेतृत्व नछाड्ने बरू सम्झाउन चाहिँ छाड्नुपर्ने बताएका हुन् ।
‘किन सम्झाउँदै हुनुहुन्छ । नसम्झाउनुस् मलाई । तपाईंहरूले सम्झाउनुपर्दैन। म नेतृत्व छाड्दिनँ,’ ती पदाधिकारीले ओलीको भनाई उदृद्ध गर्दै भने । एमालेलाई पुरानै अवस्थामा फर्काउन आफू सक्षम रहेको भन्दै कसैले सम्झाएकै भरमा आफू मान्ने अवस्थामा नरहेको ओलीले बताएका थिए । पार्टीलाई फेरि पुरानो अवस्था ल्याउँछु । यसको नेतृत्व फेरि पनि मैले नै गर्नुपर्छ । तपाईंहरू सम्झाउनतिर लाग्दै नलाग्नुस्,’ उनले भनेका थिए ।
उनले बैठक लम्बेतान भइरहेको भन्दै सक्न पनि आग्रह गरेका थिए । ‘यो बैठक धेरै लामो भइसक्यो । अब सकौं । तपाईंहरूले धेरै जोड नगर्नुस्,’ उनले भनेका थिए । आजको बैठकमा महासचिव शंकर पोखरेलले पार्टी यथास्थितिमा चल्न नसक्ने बताएका थिए । ‘पार्टी आन्दोलन यही अवस्थामा चल्दैन । समग्र पुनर्गठन गरेर जानुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए ।
उनका अनुसार महासचिव पोखरेलले राजीनामा शब्द प्रयोग गरेका थिएनन् । उनले उठाउँदै आएको पुनर्गठनको विषयलाई सचिवालय बैठकमा स्पष्टसँग राखेका थिए ।
सचिव महेश बस्नेतले संकटपूर्ण अवस्थामा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेर आपराधिक काम नगर्न चेतावनी दिएका थिए ।
जारी सचिवालय बैठकमा बहुसंख्यक सचिवालय सदस्यहरूले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिरहेका बेला उनी बचाउमा लागेका हुन् । आजको बैठकमा उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकमा ६० वर्षमाथिका बिदा भएर त्यसभन्दा तलका पुस्तालाई पार्टी आन्दोलन जिम्मा लगाउनुपर्ने धारणा राखेका थिए । ‘६० वर्ष पूरा भइसकेको हामी सबै बिदा भएर त्यसभन्दा मुनिकालाई नेतृत्व गर्न दिऔं,’ भट्टले प्रस्ताव राख्दै भनेका थिए।
उपमहासचिव भट्टका अनुसार शनिबारको बैठकमा ९ जना पदाधिकारीहरूले आफ्नो धारणा राखेका थिए । बैठक भोलि ११ः३० बजे पुनः अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्नेछ । बैठकमा ४ जना सचिवहरूले धारणा राख्न बाँकी छ ।

















