काठमाडौं।
आजबाट सुरु हुने वर्षे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी दलहरू सरकारको कार्यशैलीविरुद्ध संयुक्त प्रतिवाद गर्ने तयारीमा गरेका छन् ।
वर्षे अधिवेशन अन्तरगत प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो २ बजे बस्दैछ । उक्त बैठकमा संवैधानिक परिषद्लगायत सरकारले ल्याएका अध्यादेश र सुकुमबासीको व्यवस्थापनका विषयमा विपक्षीहरूले आवाज उठाउने र सशक्त प्रतिवाद गर्ने तयारी गरेका हुन् ।
यी विषयमा संयुक्त प्रतिवाद गर्ने विपक्षीको तयारी रहेको एक नेताले जानकारी दिए । उनका अनुसार प्रतिवादका सम्बन्धमा नेपाली कांग्रेस, एमाले र नेकपाका नेताहरू एकमत छन् ।
राष्ट्रपतिले संयुक्त बैठकमा पेस गर्ने नीति तथा कार्यक्रममा भने अवरोध नहुने बताइएको छ ।
सोमबार लगातार तीन वटा बैठक बोलाइएको छ भने राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् । उनका अनुसार सदनको कारबाही आरम्भ हुनासाथ संयुक्त प्रतिवाद गर्ने विपक्षीबिच समझदारी बनेको छ ।













