भोलिबाट संसदको बजेट अधिवेशन : सरकारलाई सबैभन्दा बढी सुझाव शिक्षा, स्वास्थ्य र विज्ञान क्षेत्रमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसदको बजेट अधिवेशन भोलि (सोमबार)बाट सुरु हुँदैछ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको पहिलो बैठकमा प्रस्तुत गरिने भएको छ ।
शनिबार साँझदेखि सरकारले बजेट तथा कार्यक्रममा नागरिकको प्रत्यक्ष सहभागिताका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा सरकारले माग गरेको सुझावमा सबैभन्दा बढी सुझाव शिक्षा, स्वास्थ्य र विज्ञानमा प्राप्त भएको छ ।

आइतबार विहान ११:१० बजेसम्म प्राप्त सुझावहरूमध्ये सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र विज्ञानसँग जोडिएका ९०६ सुझाव छन् । हालसम्म कूल प्राप्त सुझावहरुको संख्या ४ हजार ८५२ छ । त्यसमध्ये एक हजार ६४३ बजेट र दुई हजार ३३१ नीति सम्बन्धी छ ।

सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नागरिकका सुझाव समेट्नका लागि १३ फरक(फरक क्षेत्रमा सुझाव मागिएको छ । शिक्षा, स्वास्थ्य र विज्ञान क्षेत्रपछि अर्थ, उद्योग र वाणिज्य सम्बन्धी सुझावहरु ८८१ प्राप्त भएको छ । तेस्रो स्थानमा प्राप्त क्षेत्रमा पूर्वाधार विकासक सम्बन्धी ८५४ वटा सुझावहरु सरकारलाई प्राप्त भएको छ ।

अन्तर सरकारी समन्वय सम्बन्धमा ७९९, वन र वातावरणका सम्बन्धमा २६०, सार्वजनिक वित्त व्यवस्थापनमा ११३, भूमि प्रशासनमा ९९, सामाजिक सुरक्षामा ११३, नागरिक सेवामा १८४, सुशासनमा १५२, कानुन तथा न्यायमा १०६, कर्मचारी प्रशासनमा १८५ र अन्यमा २०० सुझाव सरकारलाई हालसम्म प्राप्त भएको छ ।

पोर्टलका माध्यमबाट देश–विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ, नीति निर्माताहरूले बजेट निर्माण र विकासका कार्यका लागि आफ्ना राय–सुझाव पेस गर्न सक्ने सरकारले जनाएको छ ।

  • २७ बैशाख २०८३, आईतवार १२:४१ प्रकाशित