फेवा जलाधार व्यवस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला भु तथा जलाधार संरक्षण समिति कास्कीको १४ औं बैठकले फेवा जलाधार व्यवस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारले २०८२ चैत्र १३ गते जारी गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न.७६ मा फेवा संरक्षित जलाधार व्यवस्थापकीय कार्ययोजना उल्लेख गरेको छ । बैकठले सोही योजनालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले नव गठित सरकारले फेवा संरक्षित जलाधार क्षेत्रको प्रभावकारी संरक्षण तथा व्यवस्थापनको विषयलाई उच्च महत्व दिई शासकीय सुधारको १०० बुंदे कार्ययोजनामा समावेश गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।

बृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकीले तयार पारेको फेवा संरक्षित जलाधार क्षेत्र व्यवस्थापकीय कार्ययोजना (२०२२-३१) लाइ अद्यावधिक तथा परिमार्जन सहित कार्यान्वयन गर्ने सुझाव समेत दिएको समितिका संयोजक लिलाधर पौडेलले बताए ।

यस अघि वन तथा भू संरक्षण विभागका उप महानिर्देशक उद्धब बहादुर घिमिरेको संयोजकत्वमा गठित कार्यदलले फेवा जलाधार क्षेत्रको स्थलगत अध्ययन गरि जिल्ला भु तथा जलाधार संरक्षण समिति कास्कीका पदाधिकारी तथा सरोकारवाला निकायहरूबीच अन्तरक्रिया सम्पन्न गरेको थियो ।

अन्तरक्रिया कार्यक्रममा भू तथा जलाधार विज्ञ रामदीप थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्र माथि विज्ञ सदस्य डा.
प्रेम पौडेल,साविक जिल्ला विकास समिति कास्कीका सभापाति पुण्य प्रसाद पौडेल ,पोखरा उपत्यका नगर विकास समितिका पूव अध्यक्ष विश्व प्रकाश लामिछाने,नागरिक समाजका अगुवा राम बहादुर पौडेल सहितका सरोकारवालाहरूले टिप्पणी तथा सुझाव दिएका थिए ।

  • १६ बैशाख २०८३, बुधबार १५:४६ प्रकाशित