चिया दिवसको दिन भोलि ‘चिया अन दरबार’ मा निशुल्क चिया

केन्द्रभाग मिडिया

पोखरा ।

चिया अन दरबारले चिया दिवसको दिन भोलि चिया पारखीहरुलाई निशुल्क चिया वितरण गर्ने भएको छ ।
पोखराको सभागृह चोकभन्दा दक्षिणतर्फ शिवालय चोकमा भर्खरै सञ्चालनमा आएको ‘चिया अन दरबार’ले वैशाख १५ गते मनाइने राष्ट्रिय चिया दिवसको अवसरमा निःशुल्क चिया वितरण गर्ने भएको हो ।

‘नाता चियाको, स्वाद मायाको’ भन्ने नारासहित सुरु गरिएको यो चिया अन दरबारले छोटो समयमै चियापारखीहरूको ध्यान आकर्षित गर्न थालेको छ । गल्ली गल्लीमा चिया पसल खुलिरहेका बेला ‘चिया अन दरबार’ भने केवल चिया बेच्ने होइन, सम्बन्ध जोड्ने उद्देश्यसहित खोलिएको सञ्चालकहरूको भनाइ छ । करिब ५० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको यो स्थानमा १८ भन्दा बढी प्रकारका चियाको स्वाद लिन सकिन्छ भने चियासँगै विभिन्न परिकारका खाजाहरू पनि उपलब्ध छन् ।

बाँसले घेरिएको वातावरण, खरको छाना र परम्परागत शैलीको घुमाउने घरले यसलाई अझ आकर्षक बनाएको छ । चिया मात्र होइन, यहाँ बेलाबेलामा गजल वाचन तथा सांगीतिक कार्यक्रमसमेत आयोजना गरिँदै आएको छ, जसले यसलाई ‘संगीतसँग चिया’को रूपमा चिनिन मद्दत पुर्‍याएको छ ।

सञ्चालक मध्यका एक महेन्द्र उपाध्याय ‘मन्नु’ भन्छन्, (हामीले चियालाई केवल पिउने चिया मात्र नभई सम्बन्ध जोड्ने माध्यमका रूपमा विकास गर्न खोजेका हौं । चिया दिवसमा निःशुल्क चिया वितरण गरेर पनि यही सन्देश दिन खोजिएको हो ।

अर्का सञ्चालक आशिष सापकोटाका अनुसार, ‘पोखरामा फरक स्वाद र वातावरण दिने सोचले यो सुरु गरेका हौं । युवाहरूले स्वदेशमै केही गर्न सक्छन् भन्ने उदाहरण पनि दिन चाहेका छौं ।’

त्यस्तै अर्का सञ्चालक आविष्कार केसी भन्छन्, ‘हामीले रोजगारी सिर्जना गर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने लक्ष्य राखेका छौं । चिया पारखीहरूलाई एकपटक आएर स्वाद लिन र सुझाव दिन आग्रह गर्दछौं ।’

चियाको एउटा कपले सम्बन्ध जोड्न सक्छ, यही विश्वास बोकेको ‘चिया अन दरबार’ अहिले पोखरामा केवल चिया पसल होइन, भावना साटासाट र आपसी सम्बन्ध प्रगाढ बनाउने थलो बनेको छ । यदि तपाईं पनि चियापारखी हुनुहुन्छ भने, एकपटक चिया अन दरबार पुगेर स्वाद मात्र होइन, सम्बन्धको मिठास पनि अनुभव लिन चिया अन दरबार परिवारले आग्रह गरेको छ ।

  • १४ बैशाख २०८३, सोमबार १६:०१ प्रकाशित