सुकुमवासीको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली खटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुकुमवासीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ । आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेको छ ।

शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई हटाइएको थियो । उनीहरुलाई नेपाल प्रहरी र नगर प्रहरीको टोलीले नागार्जुन, कीर्तिपुरको सत्संग भवन लगायतका स्थानमा लगेर राखेको छ ।

उनीहरुलाई हटाउँदा मानव अधिकार हनन भएको आरोप समेत लाग्ने गरेकाले मानव अधिकार आयोगको टोली अनुगमनका लागि खटिएको हो ।आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले सुकुमवासीहरुको अवस्था बुझ्न आयोगको टोली खटिएको जानकारी दिए ।

आयोगले सुकुमवासीहरुको व्यवस्थापनको सन्दर्भमा २०६९ सालमा सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्न भन्दै यही वैशाख ११ गते पत्राचार गरेको थियो । आयोगले २०६९ साल जेठ १ गते वास्तविक सुकुमवासीहरुको पहिचान गरी उनीहरुको बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र व्यवस्थापन गर्न सरकारलाई भनेको थियो ।

साथै अतिक्रमित जग्गाका घर टहरा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयमित हुन पनि निर्देशन दिएको थियो ।

  • १३ बैशाख २०८३, आईतवार १२:१८ प्रकाशित