काठमाडौं ।
नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा.दिनेश नाथ गंगोलको निधन भएको छ । ९२ वर्षीय गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आज दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
डा. गोंगलको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको छ । डा. गोंगलले आफ्नो चिकित्सकीय जीवनभर न्युरोसर्जरीसँगै पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक गरेका थिए ।
उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का संस्थापक निर्देशकसमेत थिए ।करिब चार दशकसम्म वीर अस्पतालमामा सेवा दिएका डा. गोंगलले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए ।
नेपाल चिकित्सक संघले श्रद्धाञ्जली दिँदै डा। गोंगलको निधनले नेपाली चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको बताएको छ ।













