तनहुँको मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो

केन्द्रभाग मिडिया

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

बिदाको समयमा घुम्ने संस्कृतिको विकासले गर्दा अहिले मानहुँकोटमा विगतको तुलनामा बढी पर्यटक बढ्न थालेका हुन् । पर्यटकको चाप बढेपछि स्थानीय होटल व्यवसायी उत्साहित भएका होटल भ्यू टावरका सञ्चालक प्रेमबहादुर राउतले जानकारी दिए ।

बिदाका दिनमा पाहुनाले होटल भरिभराउ हुने गरेका छन् । उनले भने, ‘यतिबेला पर्यटकको मुख्य याम त होइन, तर दुई दिने बिदाले पहिलेभन्दा तेब्बर बढी पर्यटक मानहुँकोट आउन थालेका छन्, पाहुनाको आगमनले हामीलाई उत्साहित बनाएको छ ।’

सदरमुकाम दमौलीबाट मात्र ६–७ किलोमिटरको दुरीमा रहेकाले पनि मानहुँकोटमा पर्यटकको सङ्ख्या बढाउन सहज भएको व्यवसायीको भनाइ छ । व्यवसायी राउतले मानहुँकोटमा खानेपानीको अभाव रहेको बताउँदै प्रतिलिटर डेढ रुपियाँमा पानी किनेर व्यवसाय चलाउनुपर्ने बाध्यता रहेको दुखेसो सुनाए ।यस स्थानमा जाने सडकको अवस्था सुधार गर्न र पानीको दीर्घकालीन रूपमा समस्या समाधान गर्न आवश्यक भएको व्यवसायी चूडामणि दाहालले बताए । व्यास नगरपालिकाले मानहुँकोटको पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँकोटको प्रचारप्रसारका लागि मानहुँकोटदेखि पुलिम¥याङसम्म ‘अल्ट्राम्याराथन’ दौड जस्ता प्रतियोगिता आयोजना गरिँदै आएको जानकारी दिए । ‘मानहुँकोटको पर्यटन विकास हाम्रो पहिलो प्राथमिकतामा छ’, नगर प्रमुखले भने, ‘अहिले देखिएको खानेपानीको समस्या समाधानका लागि नगरपालिकाको सक्रियतामा योजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ ।’

शिरशिर चल्ने चिसो हावा, सूर्योदय, कुहिरोले ढपक्क ढाकेको दमौली बजारको दृश्य र हिमाली शृङ्खला अवलोकनका लागि मानहुँकोट पछिल्लो समय नेपालकै चर्चित गन्तव्यमध्ये एक बनेको छ ।

यातायातको सहजता र प्रचारप्रसारसँगै यहाँको पूर्वाधार विकास भएमा आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्दै जाने त्यस क्षेत्रका व्यवसायी बताउँछन् । रासस

  • ७ बैशाख २०८३, सोमबार १७:०८ प्रकाशित