ढोरपाटन सिकार आरक्षमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

केन्द्रभाग मिडिया

बागलुङ ।

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवाको गणना गरिने भएको छ। नाउर र झारलको वैधानिक सिकारका लागि विश्वविख्यात यस आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि हालसम्म यसको आधिकारिक गणना हुन सकेको थिएन।

आरक्षका रेन्जर सागर सुवेदीका अनुसार गणनाका लागि गणकहरूलाई तालिम दिने तयारी भइरहेको छ। गणना कार्यमा आरक्षका कर्मचारी, तालिम प्राप्त गणक र स्थानीय बासिन्दाहरूको सहभागिता रहनेछ। हिउँ चितुवाको अवस्था पत्ता लगाउन आरक्षका उच्च पहाडी क्षेत्रमा रहेका सिकार ब्लकहरूमा ५६ वटा स्वचालित ‘क्यामेरा ट्रयाप’ जडान गरिने सुवेदीले जानकारी दिए।

‘आरक्षमा पहिलो पटक हिउँ चितुवाको सङ्ख्या र अवस्था पत्ता लगाउन लागेका हौँ,’सुवेदीले भने। करिब १० जना गणकहरू ४५ दिनसम्म उच्च हिमाली भेगमा खटिनेछन्। उनीहरूले क्यामेरा जडान गर्ने, प्रत्यक्ष फोटो तथा भिडियो खिच्ने, र चितुवाको पाइला तथा दिसा सङ्कलन गरी विस्तृत प्रतिवेदन तयार पार्नेछन्। क्यामेराले कैद गरेका तस्बिरमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ भने सङ्कलन गरिएको दिसालाई प्रयोगशालामा परीक्षण गरिनेछ।

१ हजार ३२५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लासम्म फैलिएको छ। आरक्षका सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँ चितुवाको बासस्थान रहेको अनुमान छ। यी ब्लकहरू ४ हजार मिटरदेखि ७ हजार मिटरभन्दा बढी उचाइसम्म रहेका छन्।

ढोरपाटनमा २०७९ सालमा गरिएको गणनाअनुसार १ हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए। हिउँ चितुवा गणना सम्पन्न भएपछि आगामी वर्ष पुनः नाउर र झारलको गणना गर्ने आरक्षको योजना छ। हिउँ चितुवाको वास्तविक तथ्याङ्क आएपछि यसको संरक्षण र व्यवस्थापनमा थप सहज हुने विश्वास गरिएको छ।रासस

  • १ बैशाख २०८३, मंगलवार १३:०९ प्रकाशित