काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते सुरु गरिने भएको छ ।
दलको नेता चयनका लागि निर्वाचन समिति संयोजक बनेका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते प्रक्रिया सुरु गर्ने र ४ गते निर्वाचन गर्ने तयारीमा आफूहरू लागेको जानकारी दिए ।
उनले दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताए ।सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा पनि जानुपर्ने उनको भनाइ छ ।
‘नेपाली कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते गर्ने । वैशाख २ गते निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्छ,’ उनले भने, ‘पार्टी नेतृत्वले सहमतिको प्रयास जारी राख्छ ।
सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा जानु पर्छ नै । एकल उम्मेदवारी पर्यो भने सर्वसम्मत नेता चयन हुन्छ । नभए लोकतान्त्रिक विधि पद्दतिबाट निर्वाचन गराएर प्रतिपक्षी दलको नेता चयन हुन्छ ।’
कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायत सांसदले प्रयास गरिरहेका छन् ।













