पोखरा ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले आफ्नो जन्मदिन मानव सेवा आश्रममा रहेका आश्रितलाई भोजन गराएर र बृक्षारोपण गरेर मनाएका छन् । मंगलबार उनले आफ्नो जन्मदिन पोखरा १७ छोरेपाटन र पोखरा २५ हेमजामा रहेको मानव सेवा आश्रमका आश्रितलाई भोजन गराएर मनाएका हुन् ।
उनले सो अबसरमा आश्रमको अवस्थाको बारेमा समेत जानकारी लिए । आश्रितसंगै भोजन गरेका उनले मानव सेवा आश्रम मार्फत भएको सेवाको प्रसंशा गरे । प्रमुख आचार्यले पोखरामा मानव सेवा आश्रम स्थापना (१७ चैत २०७४ मा गृह प्रवेश) देखि निरन्तर जन्मदिन मानव सेवा आश्रममै भोजन खुवाएर मनाउने गरेका आश्रमकी अभिभावक एवं पोखरा उद्योग वाणिज्य संघकी महासचिव सोभा गौतमले जानकारी दिइन् ।
‘मानव सेवा आश्रममा गृह प्रवेश गरेको दिन १७ चैत २०७४ हो । मेयर’सबले त्यसदिन देखि हरेक १७ चैत अर्थात आफ्नो जन्मदिनमा मानव सेवा आश्रममा नै भोजन गराउँदै आउनुभएको छ । आफूले पनि आश्रममै भोजन गर्नुहुन्छ’ उनले भनिन् ।
साथै सो अबसरमा आचार्यले हेम्जा स्थित आश्रम परिसरमा हलुवाबेदको विरुवा समेत रोपेका छन् । मेयर आचार्य आश्रम पुगेका बेला आश्रमको तर्फबाट भावी कार्यक्रमका बारेमा समेत जानकारी गराइएको गौतमले बताइन् ।
पोखरा मुक्तिनाथको प्रवेश द्वार रहेको र मक्तिनाथ जाने धार्मिक पर्यटकलाई एक पटक आश्रम अबलोकन गर्ने व्यवस्था गर्ने, आश्रममा १९ बैशाखबाट महायज्ञ सञ्चालन गरिने लगायतका योजना आफूहरुले सुनाएको उनले जानकारी दिएकी छन् । अभिभावक गौतमका अनुसार हेमजा स्थित आश्रममा १६८ जना पुरुष र छोरेपाटनमा ८६ महिला महिला आश्रित छन् ।













