बागलुङको मालढुङ्गामा प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

केन्द्रभाग मिडिया

बागलुङ ।

बागलुङको कालीगण्डकीमा हाम फाल्दा एक युवक बेपत्ता भएका छन् । बागलुङ र पर्वतको सिमाना मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेका ती युवक कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार बागलुङबाट टिपरमा पर्वत जाँदै गरेका पर्वतको जलजला गाउँपालिका-८ का २५ वर्षिय विशाल बिकले जाँच गर्ने क्रममा भागेर कालीगण्डकीमा हाम फालेका हुन् ।

बागलुङ र पर्वतको सिमानामा पर्ने पर्वत अस्थायी प्रहरी पोष्टको नियमित जाँचको क्रममा बिकले भागेर कालीगण्डकीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पट्टेलले बताए ।

बागलुङबाट बालुवा बोकेर पर्वततर्फ जाँदै गरेको ग१क ५२४४ नम्बरको टिपरमा थिए । ट्रकका चालक पनि फरार रहेको प्रहरी निरीक्षक पट्टेलले जानकारी दिए ।बिकका परिवारले भने प्रहरीले लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको आरोप लगाएका छन् । उनीहरुले बिहान सडकसमेत अवरुद्ध गरेका छन् ।

आज बिहानदेखि जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी टोलीसँगै सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले कालीगण्डकीमा बिकको खोजी गरिरहेको छ ।टिपरका चालको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • १७ चैत्र २०८२, मंगलवार १२:०० प्रकाशित