मुख्य राजमार्गका क्षतिग्रस्त पुलहरू दसैँअगावै पुनर्निर्माण गरिने : सडक विभाग

केन्द्रभाग मिडिया

काठमाडौं।

हालैको अविरल वर्षा र बाढीपहिरोका कारण क्षतिग्रस्त बनेका मुख्य राजमार्गका पुलहरूलाई आउँदो दसैँअगावै मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ। सडक विभाग अन्तर्गतको पुल महाशाखाले चाडपर्वका बेला सर्वसाधारणको आवागमन सहज बनाउन द्रुत गतिमा काम अघि बढाइएको जनाएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो प्रतिवेदनमा गत बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले देशभर करिब १० वटा पुलमा क्षति पुगेको विवरण सार्वजनिक गरेको छ।

उक्त विवरणमा भएको पुलमध्ये स्थानीय सडक, मोटरेबल तथा अन्य पुलहरू समेत समावेश छन्। विभागले भने विशेषगरी रणनीतिक तथा मुख्य राजमार्गअन्तर्गतका पुलहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको पुल महाशाखाका प्रमुख ललिजन खनालले बताए ।

महाशाखा प्रमुख खनालका अनुसार हाल कालीगण्डकी करिडोररराजमार्ग खण्डका पोखरेबगर, माल्ढुङ्गा र डेढगाउँका पुलहरूमा बाढीले क्षति पुर्‍याएको छ । ती पुलहरूमा तत्काल बेलीब्रिज राख्ने वा मर्मत गर्ने भन्ने प्राविधिक अध्ययनका लागि टोली फिल्डमै खटिएको छ ।

यस्तै गत भदौ १० गतेको बाढीबाट प्रभावित रसुवागढी सडक खण्डको बेत्रावतीमा भने बेलीब्रिजको फाउन्डेसन (जग) निर्माणको काम करिब सम्पन्न भइसकेको विभागले जनाएको छ। आवश्यक निर्माण सामग्री ढुवानीका लागि बाटो खुल्नासाथ दसैँअगाडि नै बेत्रावतीमा बेलीब्रिज जडान गरिने उनले बताए।

  • १३ आश्विन २०८३, मंगलवार १४:४६ प्रकाशित