काठमाडौं ।
भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई नेपाल विद्युत् प्राधिकरणमा रोजगारी दिने निर्णय कार्यान्वयनमा आएको छ।
प्राधिकरणले जेनजी आन्दोलनका सहिद परिवारबाट प्राप्त २७ जनाको निवेदनलाई यकिन गरी उनीहरूलाई रोजगारी दिने प्रक्रिया अघि बढाएको हो । शैक्षिक योग्यताका आधारमा उनीहरूलाई पायक पर्ने प्राधिकरणका विभिन्न कार्यालयहरूमा बढीमा तीन तहसम्मको करार नियुक्ति दिने व्यवस्था मिलाइएको छ।
गत पुस २२ गते बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सहित परिवारलाई रोजगारी दिने निर्णय गरेको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारीमा रहेका बेला कुलमान घिसिङले रोजगारी दिने प्रस्ताव पारित गरेका थिए ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ– ‘भाद्र २३ र २४ गतेको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ को बुँदा नं। ११ मा शहीद परिवारका सदस्यलाई रोजगारी सम्बन्धी व्यवस्था मिलाउने भन्ने ब्यहोराका सम्बन्धमा नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मिति २०८२/०९/२० को पत्रसाथ तपसिलका व्यक्तिहरूले रोजगारीको लागि पेस गरेको निवेदन प्राधिकरणलाई प्राप्त भएको हुँदा सहिदका परिवारले प्राप्त गर्ने सुविधामा निजहरू बाहेक अरू कसैको हक दाबी लाग्ने भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल विद्युत् प्राधिकरण काठमाडौँमा निस्सा प्रमाण सहित सम्पर्क राख्नुहुन सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’













