रियाद ।
साउदी अरबले आफ्नो भूमिमा लगातार इरानी आक्रमण भएको भन्दै इरानका सैन्य सहचारी र दूतावासका कर्मचारीहरूलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ। साउदी विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै इरानी दूतावासका सैन्य सहचारी, सहायक सैन्य सहचारी र अन्य तीन कर्मचारीलाई अवाञ्छित व्यक्ति (पर्सोना नन ग्राटा)घोषणा गरेको हो।
अमेरिका र इजरायलसँग इरानको युद्ध चलिरहेका बेला साउदी अरबले यस्तो कठोर निर्णय लिएको हो। पछिल्लो समय इरानले साउदी अरब र अमेरिकी सैन्य अखडा रहेका अन्य खाडी मुलुकहरूलाई लक्षित गरी नागरिक केन्द्र र ऊर्जा सुविधाहरूमा घातक आक्रमण बढाउँदै लगेको छ। यी आक्रमणका कारण विश्वव्यापी ऊर्जा बजारमा अस्थिरता उत्पन्न हुनुका साथै क्षेत्रभरि ठुलो हलचल पैदा भएको छ।
विश्वको दोस्रो ठुलो कच्चा तेल भण्डार भएको साउदी अरबमाथि युद्ध सुरु भएदेखि नै इरानले सयौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरिसकेको छ। यद्यपि, साउदी अधिकारीहरूका अनुसार तीमध्ये अधिकांश आक्रमणलाई बिचैमा विफल पारिएको छ।
साउदीको पूर्वी क्षेत्रका ऊर्जा केन्द्रहरू र राजधानी रियादलाई पटक–पटक निशाना बनाइएको छ। यसै महिनाको सुरुमा रियादस्थित अमेरिकी दूतावासमा समेत दुईवटा ड्रोनले प्रहार गरेका थिए।
पछिल्लो पटक बिहीबार लाल सागरस्थित यान्बु बन्दरगाहमा रहेको अराम्को–एक्सन रिफाइनरी ९सामरेफ० नजिकै ड्रोन खसेपछि तेल ढुवानीमा अवरोध पुगेको थियो। इरानले स्ट्रेट अफ हर्मुजबाट हुने ट्याङ्कर यातायातमा अवरोध सिर्जना गरेपछि साउदी अरबका लागि तेल निर्यात गर्ने यो एक मात्र वैकल्पिक मार्गका रूपमा रहेको छ।
यसअघि नै साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले इरानमाथिको विश्वास पूर्ण रूपमा टुटेको र आफ्नो देशको रक्षा गर्ने अधिकार साउदीसँग सुरक्षित रहेको बताएका थिए। विदेशमन्त्रीले साउदी अरब र अन्य खाडी मुलुकहरूसँग आवश्यक परेको खण्डमा प्रतिकार गर्न सक्ने ठुलो सैन्य क्षमता रहेको चेतावनी समेत दिएका छन्।
तीन वर्षअघि चीनको मध्यस्थतामा साउदी र इरानबिच सम्बन्ध सुधारको प्रयास भए पनि पछिल्लो युद्धले त्यसलाई पुनः संकटमा पारेको छ। साउदी मन्त्रालयले इरानी आक्रमण नरोकिए यसको परिणाम अझ गम्भीर हुने र भविष्यको सम्बन्धमा समेत ठुलो असर पर्ने प्रस्ट पारेको छ। एजेन्सी














