पोखरा ।
वर्षा पछि बाटो चिप्लो भएको र ढुंगासहितको पहिरो गई दुर्घटना नहोस भनेर सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानको सिद्धबाबा क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकास चौधरीले जानकारी दिए ।
आज बिहानैदेखि वर्षा भइरहेकाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झर्ने सम्भावना रहेको र सम्भावित दुर्घटना रोक्न सवारी सञ्चालनमा रोक लगाइएको उनले बताए । उनका अनुसार विहान करिव ८ः३० बजेदेखि सवारी आवागमनमा रोक लगाइएको हो ।
पानी पर्दा जोखिम हुने र जोखिम नहटेसम्म बाटो नखुलाइने उनले प्रष्ट पारेका छन् । ‘सिद्धबाबामा पहिरो गएको होइन । वर्षापछि त्यहाँ ढुंगासहितको पहिरो जाने सम्भावना अत्याधिक छ ।
त्यसैले दुर्घटना नहोस् भनेर हामीले नै सवारी आवागमन रोकेका हौं’ उनले भने ।













