पोखरा ।
करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा सुटकेसमा मृत भेटिएकी महिलाको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
हत्या गरेर सुटकेसमा शव हालेर फालिएको अवस्थामा भेटिएकी महिलाको १ महिना बित्नै लाग्दा पहिचान खुल्न नसकेको र उनको आफन्तहरु पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । घटनाका दोषीहरू पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
अन्दाजी २२ देखि २५ वर्ष उमेरकी महिलाको पहिचानका लागि प्रहरीले तस्बिर सार्वजनिक गरेको छ । हालसम्म ती महिलाको पहिचान नखुलेको कास्की प्रहरीले जनाएको छ ।महिलाको घाँटीमा धारिलो हतियारले रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक रिपोर्टले देखाएको छ । प्रहरीले पहिचानका लागि विभिन्न माध्यमहरूको प्रयोग गरेको छ ।
महिलाको पहिचान नखुलेको मात्रै होइन, घटनामा संलग्नहरूको समेत पत्तो लागेको छैन । एक पुरुष पक्राउ परेका छन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
मृतकको हुलिया सार्वजनिक गरे पनि हालसम्म कोही आफन्त सम्पर्कमा नआएकाले प्रहरीले देशभरका प्रहरी युनिटहरूमा हुलिया परिपत्र गरेको र अन्य संलग्नहरूको खोजी कार्य जारी राखेको बस्नेतले बताएका छन्।
मृतकको घाँटीमा बिनोद नामको र बायाँ हातमा महाकाल, आधा शिव र आधा त्रिशुलको ट्याटु रहेको छ ।













