पेट्रोलको मूल्य बढेपछि यातायात व्यवसायीद्वारा तत्काल भाडा समायोजन गर्न माग

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।

नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएको भोलिपल्ट महासंघले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले एकैपटक यति धेरै मूल्य बढ्दा यातायात व्यवसायी र आम उपभोक्तालाई प्रत्यक्ष असर परेको जनाएको छ ।

महासंघका महासचिव डकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर रहने भएकाले मूल्य घटबढ हुँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख छ ।

यातायात व्यवस्था विभागले स्वचालित प्रणालीबाट भाडा समायोजन गर्दै आएको भए पनि विगत २०७८ फागुन २२ गतेदेखि भाडा समायोजन नभएको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको छ ।

महासंघले सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकहरूलाई आधार मानेर २०६५ सालमा तय गरिएको वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्न माग गरेको छ । विज्ञप्तिमार्फत संघीय रुटको हकमा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतका रुटको हकमा सातवटै प्रदेशका सम्बन्धित मन्त्रालयबाट यथाशीघ्र भाडा समायोजन गरिदिन सरकारको ध्यानाकर्षण गराइएको छ ।

यातायात व्यवसायीले नेपाल आयल निगमलाई केवल मूल्यवृद्धि गरेर मात्र समस्याको समाधान नहुने बताएका छन् । उनीहरूले निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गर्दै वैज्ञानिक विधि अपनाएर सहज आपूर्ति व्यवस्था मिलाउन समेत नेपाल सरकारसमक्ष माग गरेका छन् ।

  • २ चैत्र २०८२, सोमबार १४:४२ प्रकाशित