किशोरी साहको रिटमा सुनुवाइ सकियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा निर्वाचनमा धनुषा-१ मा उम्मेदवारी खारेज भएपछि रास्वपाका किशोरी साहले दायर रिटमा सुनुवाइ सकिएको छ ।शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा रिटमाथिको सुनुवाइ सकिएको हो ।

उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन १९ गते रिट दायर गरेका थिए । तर अहिले सर्वोच्चले आफ्नो वेबसाइटमा भने रिट हेर्न नमिल्नेमा परेको उल्लेख गरेको छ ।

बिहीबार न्यायाधीश न्यायाधीश सारंगा सुवेदीकै इजलासले उम्मेदवार बनेका साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको थियो ।साहले गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको दाबीसहित साह सर्वोच्च अदालत पुगेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी भएको थियो । यो आदेशसँगै साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयसमेत निस्तेज हुने अवस्थामा पुगेको हो ।

निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरे पनि फागुन २१ को निर्वाचनमा उनको चुनाव चिह्न घण्टीमा धेरै भोट आएको थियो । तर उम्मेदवारी नै खारेज भएको अवस्थामा उनीभन्दा धेरै कम मत पाएका नेकपाका उम्मेदवार मातृका यादवलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।

  • २९ फाल्गुन २०८२, शुक्रबार १४:४६ प्रकाशित