कम्बोडिया पुगेर अलपत्र परेका १६ नेपालीको उद्धार

केन्द्रभाग मिडिया

काठमाडौं ।

मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका १६ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ।

थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई बिहीबार स्वदेश फर्काइएको हो।

दूतावासका अनुसार उनीहरूलाई विभिन्न माध्यमबाट कम्बोडिया पुर्‍याएर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ (ठगी) केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो।

साथै, उनीहरूमध्ये कतिपय बिनाभिसा त्यहाँ बसिरहेका थिए। राजदूतावासले अझै पनि त्यहाँ कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूको उद्धारका लागि पहल निरन्तर भइरहेको जनाएको छ।

दूतावासले कम्बोडियामा भिसाम्याद गुज्रिएर बसेका वा जबर्जस्ती गैरकानुनी काममा फसेका नेपालीहरूलाई तत्काल सम्पर्क गर्न आग्रह गरेको छ। उद्धार र नेपाल फर्कने सहजीकरणका लागि राजदूतावास बैंकक वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूलाई ९शिवराज पराजुलीः +855 12 215 578), लालसिंह खड्काः +855 93 203 666 र  रामजी श्रीकुमार क्षेत्रीः +855 96 346 5788 लाई सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

रोजगारदाता कम्पनी ९स्क्यामिङ केन्द्र० ले कामदारको राहदानी ९पासपोर्ट० जफत गर्ने गरेको वा ट्रान्सफर हुने क्रममा राहदानी हराउने गरेको गुनासो बढेपछि दूतावासले उद्धारका लागि सहज व्यवस्था गरेको छ। त्यस्तो अवस्थामा नेपाल फर्कन नेपाली राजदूतावास बैंककले निःशुल्क रूपमा ‘एकतर्फी यात्रा अनुमतिपत्र’ पीडितले दिएको ठेगानामै पठाइदिने व्यवस्था गरेको छ।

यसैबीच दूतावासले छिटो र धेरै पैसा कमाउने लोभमा मानव तस्करको प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत गराएको छ।

  • २८ फाल्गुन २०८२, बिहीबार १५:०३ प्रकाशित