सोविताको निर्वाचन खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च विवरण पेश गरेकी छिन् ।

गौतमले निर्वाचन आयोगमा बुधबार निर्वाचनको बेलामा आफूले गरेको खर्च विवरण पेश गरेकी हुन् । सामाजिक सञ्जालमार्फत उनले आयोगमा पेश गरेको विवरण सार्वजनिक गरेकी छिन् ।

सार्वजनिक विवरण अनुसार, गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेकी छिन् । जस अन्तर्गत, मनोनयन दर्ताका लागि ५ हजार, प्रचार प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षणका लागि ३० हजार, नमुना मतपत्ररघोषणापत्र छपाइका लागि ७४ हजार २ सय, वडास्तरीय प्रचार प्रसार (१५ दिन) १ लाख, सवारी साधन २ वटा ३ लाख २५ हजार (चालक र इन्धन सहित), स्टेशनरी २३ हजार ४४५ र खाद्यान्न, रासन तथा पानी १ लाख १८ हजारको खर्च भएको उल्लेख छ ।

निर्वाचनमा सहभागी उम्मेदवारहरूले धमाधम आफ्नो खर्च विवरण सार्वजनिक गरिरहेका छन् । आयोगले आफ्नो खर्च विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

गौतम चितवन–३ बाट ५९ हजार २७७ मत ल्याएर निर्वाचित भएकी हुन् ।नेकपाबाट उम्मेदवार बनेकी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई फराकिलो मतान्तरले हराउँदै उनले निर्वाचित भएकी हुन् । रेनुले भने २० हजार ६१५ मत ल्याएर दोस्रो बनिन् ।

  • २८ फाल्गुन २०८२, बिहीबार १३:५७ प्रकाशित