काठमाडौं।
जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुद्ध एयरले कल साइन रहेको एटीआर–७२ जहाजलाई औपचारिक रूपमा बिदाइ गरेको छ । एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२,००० साइकल हो । ‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ ।
यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यावसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौँसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रु बोकेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका जनरल म्यानेजर टेकनाथ सिटौलाले बुद्ध एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको बताए ।
एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेण्ट स्टेफानो माराज्जनीले बुद्ध एयरसँगको साझेदारीप्रति गहिरो खुसी व्यक्त गर्दै भने – ‘एटीआर कम्पनीले डिजाइन र निर्माण गरेको यो विमान योग्य हातहरू एवं सही वातावरण तथा उत्कृष्ट प्राविधिक प्रणालीको साथमा अन्तिम उडानसम्म सुरक्षित रूपमा सेवा दिन सक्षम भयो । यसले बुद्ध एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ ।’
यसअघि बुद्ध एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो । बुद्ध एयरले आन्तरिक रूपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगन्ज, भैरहवा र भरतपुरको उडान भरिरहेको छ । साथै, अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान भरिरहेको छ ।














