पोखरा ।
केही दिनदेखि पोखराका विभिन्न सडक र चोकमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले आफ्नो आत्मकथाको पुस्तक बेचिरहेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुनले पोखराको सडक किनारमा पुस्तक बिक्री गर्नेबारे आज पनि सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गरेलगत्तै मेयर धनराज आचार्यले ध्यानाकर्षण गराएका छन्।
पुनले सामाजिक सञ्जालमा गरेको स्टाटसमा पुस्तक पोखरा आइपुगेको जानकारी दिँदै बिहान १० बजेदेखि पोखराको चिप्लेढुंगा आसपास पुस्तक बिक्री गर्ने तथा दिउँसो सभागृहचोक र बेलुका बिरेटा चोकमा पनि पुस्तक बिक्री गर्ने बताएका थिए। उनले मतगणनाको काम नसकिएकाले फुर्सदको समयमा पुस्तक बेचेर ‘वीरगञ्ज कृषि औजार कारखाना’का लागि रकम संकलन गरिरहेको उल्लेख गरेका थिए।
यसपछि पोखराका मेयर आचार्यले सार्वजनिक ध्यानाकर्षण पत्र जारी गर्दै पुनको अभियान र उद्देश्यप्रति सम्मान व्यक्त गर्दै सडकमा उभिएर पुस्तक बिक्री गर्नु उपयुक्त नदेखिएको उल्लेख गरेका छन् । उनले बिना दर्ता वा आवश्यक अनुमति सडकमा वस्तु बिक्री गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने तथा यातायात व्यवस्थापनमा पनि समस्या आउन सक्ने उल्लेख गरेका छन्।
आचार्यले देशभर करिब १८ हजार पुस्तक व्यवसायी राज्यका निकायमा दर्ता भई पुस्तक बिक्री–वितरणमा संलग्न रहेको उल्लेख गर्दै, यदि पुन पोखरा आउने समय दिनुहुन्छ भने पुस्तक व्यवसायी महासंघमार्फत उपयुक्त स्थान उपलब्ध गराएर पुस्तक बिक्री–वितरणमा सहयोग गर्न सकिने प्रस्ताव गरेका छन्।
त्यस्तै पुनले पुस्तकको स्टक उपलब्ध गराए महासंघमार्फत बिक्री गरी उचित भुक्तानी उपलब्ध गराउन सहजीकरण गर्न सकिने तथा हालसम्म बिक्री भएका पुस्तकको विवरण सार्वजनिक गर्न सके पारदर्शिता बढ्ने आचार्यको भनाइ छ।














