काठमाडौं ।
गत बिहीबार भएको निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगणना लगभग सकिएको छ । समानुपातिकतर्फको मतगणन पनि भइराखेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी चैत ५ गतेभित्र मत गणना सकेर समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र दिने लगायतका कार्य सम्पन्न गरिसक्ने आयोगको लक्ष्य छ ।
समानुपातिकतर्फको समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।
निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य हुनेछ ।
यी सबै काम आगामी चैत ५ गते भित्र सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् ।














